काठमाडौंः संवैधानिक परिषद्को सम्पन्न बैठकले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

मंगलवार साँझ संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको अध्यक्षता सिंहदरबारमा बसेको परिषद् बैठकले जोशीको नाम अनुमोदनका लागि संसदीय सुनुवाइ विशेष समितिमा सिफारिस गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र कानूनमन्त्री शेरबहादुर तामाङ सहभागी थिए ।


प्रधानन्यायाधीशका लागि न्याय परिषद् सचिवालयले दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको नाम पठाइसकेको थियो। जसमा दीपकराज जोशीलाई संसदीय सुनुवाइ विशेष समितिमा सिफारिसका लागि पठाइएको हो ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि जोशीले कामु प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका थिए ।