काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने चीनको औपचारिक भ्रमणका बेला उनको उपस्थितिमा निजी क्षेत्रले निर्माण गर्ने ४ जलविद्युत आयोजनामा लगानी गर्न चिनियाँ कम्पनी सँग समझदारी भएको छ । मंगलबार बेइजिङमा आयोजना निर्माण गर्ने नेपाली तथा चिनियाँ कम्पनीका प्रतिनिधिबीच इपिसि–एफ (इन्जिनियरिङ प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स) मोडलमा लगानी ल्याउन समझदारी भएको हो । माथिल्लो मर्स्याङ्दी–२, त्रिशूली गल्छी,  कालीगण्डकी गर्ज र सुपर न्यादीमा नेपाली निजी कम्पनी र चिनियाँ लगानीकर्ता बीच प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता भएको हो ।

६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी–२मा लगानी भित्र्याउन बिपिसीका अध्यक्ष पद्म ज्योती र सिचुवान इन्भेष्टमेन्ट ग्रुप, चेङ्दु सिङचेङ इन्भेष्टमेन्ट ग्रुप तथा सिचुवान क्विनयान इन्जिनियरिङ कन्सल्टिङ कम्पनीका प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।


यसैगरी, ७५ मेगावाटको त्रिशूली गल्छीमा सिद्धकाली पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र डोङफङ इलेक्ट्रिक इन्टरनेशनल कर्पोरेशनका उपाध्यक्ष चेन क्विनले हस्ताक्षर गरे  । यस विषयमा गत बैशाखमै काठमाडौंमा प्रारम्भिक समझदारी भएको थियो ।

१ सय ६४ मेगावाटको कालीगण्डकी गर्जमा  ज्ञानेन्द्रलाल प्रधान अध्यक्ष रहेको हाइड्रो सोलुसन र ४०.२७ मेगावाटको न्यादी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंको कम्पनी सिउरी न्यादीले निर्माण गर्दैछ । यी आयोजनामा लगानी भित्र्याउन हाइड्रो सोलुसनका अध्यक्ष प्रधान र सिउरी न्यादी कम्पनीका कार्यकारी अध्यक्ष गुरागाईंले समझदारीमा हस्ताक्षर गरेका छन् ।

चिनियाँ कम्पनीका तर्फबाट क्रमशः युनान सिन्हवा वाटर कन्जरभेन्सी एन्ड हाइड्रो पावर इन्भेष्मेन्ट र चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कम्पनीका प्रतिनिधिले समझदारीमा हस्ताक्षर गरेको बताइएको छ । सुपर न्यादीको निर्माण आगामी भदौबाट सुरु गर्ने तयारी छ । यसको एक वर्षअघि नै विद्युत खरिद सम्झौता भएको थियो । समझदारी अनुसार चिनियाँ कम्पनीले ४ आयोजना इपिसिएफ मोडलमा विकास गर्नेछन् ।