नेपाल तारा डेक्स: प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणमा चैत २३ गते नयाँदल्ली पुगेका छन् । भारत जानुभन्दा पहिले उनले भारतसँग राजनीतिक विषयमा कुनै पनि कुरा नहुने बताएका थिए । प्रम ओलीले भारतमा गएर पूर्वाधार निमार्णको कुरा गर्ने बताएका थिए। उनले दुई देशबीच समान हितका आधारमा कुरा हुने बताएका थिए। अहिलेको प्रमको दिल्ली भ्रमणले सबै कुरा दुई देशबीच समान हितका आधारमा तय गर्न सफल होला ? यो भ्रमण पूर्वाधारमा भारतको सहयोग जुटाउन सफल होला ?

केपी ओली पहिले भारतप्रति नजिकी नेता मानिन्थे, नाकाबन्दीपछि केपी ओली भारतका आलोचक रहेको मानिन्छन्। यसबाट उनको सम्बन्ध तीक्त रहन पुगको थियो ।


। उनकै भनाइमा पनि यो भ्रमण त्यही तीक्त अवस्थाबाट गुज्रिएको सम्बन्धलाई सुधार्ने अवसर हुनेछ। विश्लेषकको धारणा अनुसार सम्बन्ध सुधारमा केही प्रगति त हुनेछ नै भारतीय पक्षले पनि आफ्नो नीति जे–जस्तो भए पनि नेपालको निर्वाचनबाट आएको शक्तिशाली सरकारसँग सम्बन्ध सुधार्नुपर्छ भन्ने सोचेको छ । यो आंशिक रूपमा सही नै होला ।

भारतले नेपालका प्रम केपी ओलीलाई छिटै दिल्ली आउन निम्तो दिनु र भ्रमण तय गर्नुमा ओलीको चीनतिरको झुकाव, उनले अपनाउने सम्बन्धका आयाम र चीनले भन्दै आएको वान रोड वान बेल्टमा नेपाल अझ भनौं ओलीको योजना के छ ? त्यसलाई केन्द्रमा राखेर उनले भारतसँग कस्तो योजनाको सहयोग माग गर्छन्, त्यसको मिहीन रूपमा अनुशीलन गर्नु नै हो ।

केपी ओली भारत भ्रमणमा जानुभन्दा अघि पूर्वप्रधानमन्त्रीहरू तथा अन्य विज्ञहरूले नयाँ योजनाको मागभन्दा पनि पुराना योजना जो भारतले निर्माण गर्न प्रतिबद्धता जनाएको थियो ती आयोजना पूरा गर्न पहल गर्न सुझएका थिए। नेपालको अति महत्वपूर्ण रूपमा लिइने हुलाकी मार्गको निर्माण, पञ्चेश्वर योजना, महाकाली सन्धिमा भएका प्रावधानको भारतले पूरा गर्नुपर्ने कुरादेखि अन्य धेरै योजना छन् जसलाई भारतले प्रतिबद्धता त जनाएको छ तर पूरा गर्नतिर चासो देखाएको छैन । वास्तवमा भारतले आफूले प्रतिबद्धता जनाएका कुरा मात्र पूरा गरिदिए नेपालका लागि धेरै हुन सक्छ र ओलीको भ्रमण पनि ऐतिहासिकै मान्न सकिनेछ ।

प्रम ओलीले भारतका उद्योगी व्यापारीहरूलाई सम्बोधन गरेका छन् । त्यसबेला उनले नेपालमा अहिले स्थिर सरकार बनेको छ, तसर्थ भारतीय उद्योगीले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न कुनै अप्ठ्यरो छैन । अब नेपाल सरकारले देशी, विदेशी लगानी सुरक्षाको सुनिश्चित गर्नेछ भनेका छन् । सायद यसैलाई विश्वस्त पार्न भारतबाटै अरुण तेस्रोको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गर्ने योजना बनेको छ ।

यति हुँदाहुँदै पनि नेपाल वैदेशिक लगानीका लागि नीतिगत रूपमा तयार छ ? यो अति नै महत्वपूर्ण कुरा हो । सामान्य रूपमा हेर्दा भारतीय लगानीकर्ता नेपालका उद्योगमा लगानी गर्ने कुरा त रणनीतिक हुनेछ, बरु नेपालका प्रायः उद्योगको अवस्था ज्यादै दयनीय भएकाले नेपाली उत्पादनले आन्तरिक मागको धेरै कम मात्र धान्न सक्छ । यस्तो बेलामा अन्तर्राष्ट्रिय उत्पादनको व्यापार फस्टाउन सक्ने प्रशस्त सम्भावना छ जसले गर्दा भारतीय व्यापारीहरू नेपालमा व्यापारका लागि लगानी लिएर आउने सम्भावना बढी नै छ । भर्खरै भारतीय मिडियाहरूले नेपालका कुनै पनि विद्युत् आयोजना जसमा चीनको लगानी रहन्छ तिनबाट उत्पादित बिजूली भारतले नकिन्ने हल्ला फैलाएका छन् । यसले भविष्यमा भारतले नेपालको जलविद्युत् क्षेत्रलाई कसरी लेला भन्ने चित्र प्रष्ट पार्छ ।

हुन त प्रम ओलीले अब वैदेशिक लगानी आकर्षित गर्ने, स्वदेशी लगानीलाई प्रोत्साहित गर्ने बताएका छन् तर उनले अहिलेको अवस्था कस्तो छ भन्ने कुराको ख्याल गरेको पाइँदैन । सरकार बनेको यति समय बित्दासम्म पनि त्यसका आधार तयार गर्न कुनै पनि विज्ञ समूह तयार भएको देखिन्न भने सशक्त नीतिगत सुधार र विशेष नीति तयार गरेर भारतको लगानी आयोस्, चीनको आओस् वा अन्य कुनै राष्ट्रबाट आओस् जसबाट नेपाल कहिल्यै पनि हार्न नपरोस् । यस्तो अवस्था अहिलेसम्म छैन ।

अहिले नेपालबाट अति न्यून मात्रामा नेपाली उत्पादन भारततिर निर्यात हुन्छ । त्यस्तो अति सीमित निर्यातमा भारतमा अनेक खालका अवरोध व्यहोर्नु परिरहेको छ । नेपालका उत्पादनले भारतीय उत्पादनमा ठूलो असर गर्दैन तर पनि भारतीय उत्पादन जसरी नेपाली उत्पादन भारत जान विभिन्न खाले कर तिर्नुपर्ने तथा अनेकौं अवरो व्यहोर्नुपछ । प्रधानमन्त्रीले आफूसँगै उद्योगी व्यापारीको टोली पनि भ्रमण समेटेका छन्, यो सकारात्मक छ तर भारतसँग भइरहेको व्यापार अवरोध नहटेसम्म नेपालमा स्वदेशी लगानी पनि बढ्न सक्दैन भने अन्तर्राष्ट्रिय लगानी आउने सम्भव नै छैन ।

तसर्थ प्रधानमन्त्री आलीले भारतबाट विशेष आदरभाव पाएकोमा गदगद हुने होइन कि नेपालका यावत् क्षेत्रलाई कस्तो अवस्थामा लैजाने हो, अहिलेको अवस्था कस्तो छ, नीतिगत अवस्था कस्तो छ त्यतातिरै ध्यान दिन जरुरी छ । भारतसँग माथि उल्लेख गरिएका कुरालाई विशेष रूपमा लिन सके केही उपलब्धि भएको मानिनेछ ।