काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन् ।

प्रधानमन्त्री ओलीले ८ जना मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गर्दा राज्यमन्त्रीसहित नयाँ नौ जना अनुहारले जिम्मेवारी पाएका छन् भने युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी खोसिएको छ ।

प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास र प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिएका छन् भने गणेश ठगुन्ना सामान्य प्रशासन, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री बनेका छन् ।


जुलीकुमारी महतोले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छिन् ।

यसअघि स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् ।

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षा मन्त्री भएका छन् ।

नवनियुक्त मन्त्रीहरुले शितलनिवासमा आजै साँझ राष्ट्रपतिबाट शपथ लिएका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस १० गते शुक्रबार, २०:२४