काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले लोकतन्त्रलाई खतरामा पार्ने काम गरेकाले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको छ ।

पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै स्थायी कमिटी बैठकले अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ ।


। यसका लागि पर्सि ७ गते केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाइएको छ ।

त्यसैगरी भोलि सोमबार दिउँसो १ बजे नयाँ बानेश्वर नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ । भोलि नै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्नेछ ।

बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णयसमेत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ४५ सदस्यीय स्थायी कमिटीका आमन्त्रित ४ सहित ३१ जना उपस्थित थिए । बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यहरू अनुपस्थित थिए ।


प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, १९:५९