काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् ।

धरहरा रहेको स्थान सुन्धारामा आज बिहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् ।

धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृश्यावलोकन गरेका थिए । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पवृष्टि समेत गरे ।

२०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।


बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाइने छ । त्यहाँ पानीको फोहोरासहितको बगैँचा, संग्रहालय, तीन तले पर्किङ्ग, उपहार पसलहरु, थिएटरसहितका पूर्वाधार हुने छन् ।

करिब तीन अर्ब ४८ करोडको लागतमा निर्माण भएको धरहराको पूरा क्षेत्र ४२।२ रोपनीमा फैलिएको छ ।

१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।

धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका भए पनि सर्वसाधारणका लागि खुला हुन भने अझै केही महिना लाग्ने प्राधिकरणले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ११ गते शनिबार, १८:२३