काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र भारतका सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणेबीच भेटवार्ता भएको छ ।

आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओली र सेनाध्यक्ष नरवणेबीच भेट भएको हो ।

भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी छन् । त्यस्तै नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी छन् ।

भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ट सम्बन्ध रहेको बताएका छन् ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराईका अनुसार प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान हुने विश्वास ब्यक्त गरे ।



प्रकाशित मितिः २०७७ साल कार्तिक २१ शुक्रबार, १६:०६