काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्दैछन् ।

सरकारी वार्ता टोली र विप्लव समूहबीच बिहीबार भएको तीन बुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक समारोहमा ओली र विप्लवले सम्बोधन गर्ने भएका हुन् ।

राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले दिउँसो २ बजे संयुक्त रुपमा सम्बोधन गर्नेछन् ।

औपचारिक वार्ता सुरु भएको दोस्रो दिनमै सरकार र विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीबीच सहमति भएको हो । तीन बुँदे सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन् ।


सरकारले विप्लव नेकपा माथि दुई वर्ष अघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । आजै थुनामा रहेका नेता कार्यकर्ता रिहा हुने छन् । प्रतिबन्धपछिको २ वर्षमा विप्लव नेकपाका २ हजार भन्दा बढी नेता कार्यकर्तालाई मुद्दा लागेको छ त्यो पनि खारेज हुने भएको छ ।

हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २०७५ को फागुन २८ मा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।


प्रकाशित मितिः २०७७ साल फागुन २१ गते शुक्रबार, ०८:०९