काठमाडौंः विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौंथो संस्करण प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

टियु क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो ।

एपिएफका ओपनर आशिफ शेखले ७१ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । यस्तै शंकर रानाले २१, सन्दीप जोराले २९, सुमित महर्जनले १९, सुवास खकुरेलले १४, भुवन कार्कीले ९, कमल ऐरीले २ र अमर रौटेलाले १ रन बनाए ।


आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३/३ तथा सुशन भारीले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

आर्मीका लागि हरी चौहानले ५८, राजेश पुलामीले २८, शाहब आलमले अविजित २५, लोकेश बमले १५, सुशन भारी र रोहित पौडेलले समान १३/१३, अनिल मण्डल र बिक्रम शोबले समान ११/११ र कप्तान विनोद भण्डारीले ७ रन बनाए ।

एपीएफका लागि अविनास बोहोराले ४, किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १/१ विकेट लिए ।

उपाधिसँगै आर्मीले १० लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ५ लाखमा चित्त बुझायो ।


प्रकाशित मितिः २०७७ साल माघ १७ गते शनिबार, १८:२२