काठमाडौंः जेठ १३ गते त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का नखेल्ने भएका छन् । कप्तान पारस व्यक्तिगत कारणवश खेलको समयमा बेलायत जानुपर्ने भएकाले उनी यस प्रतियोगीतामा सहभागी नहुने भएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र नेपालय इन्टरनेशनलको ब्यवस्थापनमा हुने प्रधानमन्त्री कपमा सात प्रदेश र ३ विभागिय टोली गरि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपिएफसहित प्रदेश नम्बर १, २ र ४ छन् भने नेपाल पुलिस क्लब प्रदेश नं ३,५, ६ र ८ समूह ‘बी’मा छन् ।


। प्रतियोगिताको उद्घाटन खेल एपिएफ र प्रदेश नं ४ बीच हुनेछ । प्रधानमन्त्री कपको विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै, म्यान अफ द सिरिजलाई १ लाख, उत्कृष्ट व्याट्स्म्यान र बलरले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उदयीमान खेलाडीलाई १५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।