काठमाडौं: टियू क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा प्रदेश ४ ले प्रदेश १ लाई १२९ रनले पराजित गर्दै आफ्नो पहिलो जित दर्ता गरेको छ। टियू क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले ब्याट्सम्यान हरिबहादुर चौहानको शतकीय योगदानमा निर्धारित ओभरमा ७ विकेट गुमाएर ३१० रनको बिशाल योगफल बनाएको थियो ।

चौथो नम्बरमा ब्याटिङमा आएका चौहान  ११५ बल खेलेर १०० रन बनाए । जारी प्रतियोगितामा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् ।ओपनरहरु अनिल गुरुङ १३ र सन्तोष न्यौपाने ७ रनमा आउट हुँदा आकाश थापाले १९ तथा मञ्जिल न्यौपानेले २८ रन बनाएर आउट भएका थिए ।


। प्रदेश ४ का लागि विपिन खत्रीले ९ बलमा २३ रन जोडे ।

बलिङतर्फ प्रदेश १ का पुष्प थापा र सन्दिप ढुंगानाले २–२ विकेट लिए ।

३११ रनको लक्ष्य पछ्याएको प्रदेश १, ३५ ओभरमा १८१ रनमै समेटियो । उसका लागि ओपनर सन्दिप ढुंगानाले ७१ रनको अर्धशतकीय योगदान दिए पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिएनन् । प्रदेश १ का लागि मिनास थापाले १९, राजन मगरले १०, फिर्दोस अन्सारीले १३ तथा श्रवण यादवले १९ रन बनाए ।

बलिङतर्फ प्रदेश ४ का हरिबहादुर चौहानले ४ तथा विपिन खत्री र राजु गुरुङले २–२ विकेट लिए । हरिले प्रदेश १ का अन्तिम तीन ब्याट्सम्यानलाई पेविलियनको बाटो देखाएका थिए । ३४.४ ओभरमा फिर्दोस अन्सारीलाई क्याचआउट गराएका उनले ३४.५ ओभरमा मनोज तामाङलाई एलबीडब्ल्यू धरापमा पारे । ओभरको अन्तिम बलमा उनले प्रदेश १ का अन्तिम ब्याट्सम्यान अभ्यास तिमल्सिनालाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरे । अलराउण्ड प्रदर्शन गरेका चौहान खेलको म्यान अफ द म्याच चुनिए ।

यस्तै मुलपानी खेल मैदानमा भएको प्रदेश ५ र ७ बीचकाे खेल वर्षाका कारण रद्द भएको छ । बुधबार बिहान परेको वर्षाका कारण खेल निर्धारित समयभन्दा किरव २ घण्टा ढिला सुरू भएको थियो । भारी वर्षाका कारण मैदानमा पानी जमेपछि अफिसियलले खेल नहुने घोषणा गरे र दुवै टाेलीलार्इ एक एक अंक दिए ।