काठमाडौँ : प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज भएको खेलमा एपीएफले प्रदेश २ लाई पराजित गर्दै प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेको छ। प्रदेश २ लाई ९६ रनले हराएपछि ३ खेलबाट ६ अंक जोडेको एपीएफले आर्मीसँगै अन्तिम चारमा स्थान पक्का गरेको हो।

कीर्तिपुरस्थित टीयू इन्टरनेशनल स्टेडियममा टस जितेर पहिलो ब्याटिङ गरेको एपीएफले प्रदेश २ लाई  ३४०  रनको लक्ष्य दिएको थियो। सुवास खकुरेल र प्रदीप ऐरीको शानदार शतकपछि एपीएफले प्रदेश २ लाई अहिले सम्मकै उच्च रनको लक्ष्य दिएको हो ।

दोस्रो इनिङ्सको खेल वर्षाले प्रभावित बनेपछि प्रदेश २ ले २८ ओभरमा २०२ रनको नयाँ लक्ष्य पाएको थियो।


। तर उसले ९ विकेट गुमाएर १०५ रन मात्र बनाउन सकेपछि एपीएफ डिएल मेथड अनुसार ९६ रनले विजयी भयो।

एपीएफका लागि प्रदीपले १३५ बल खेल्दै १३ चौका र ८ छक्काको मद्दतमा १५८ रन बनाए। उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् भने राष्ट्रिय क्रिकेटमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन्।

यस्तै १ सय ३० बलको सामना गरेका ओपनर सुवासले ७ चौका र २ छक्का प्रहार गरेका थिए। एपीएफका पृथु बास्कोटाले २५ र भुवन कार्कीले १६ रन जोडे। बलिङतर्फ प्रदेश २ का दिव्यांशु मलिकले ५ विकेट लिए। ९ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै ८४ रन खर्चिएका थिए।

प्रदेश २ का लागि ओपनर हरिशंकर शाहले सर्वाधिक ३८ तथा सुरज पटेलले ३४ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। उसलाई कम स्कोरमा रोक्न एपीएफका कप्तान बसन्त रेग्मी र करण केसीले ३-३ विकेट लिए। ४ ओभर बलिङ गरेका बसन्तले १ मेडन राख्दै १० रन खर्चे।

प्रदेश ५ ३० रनले बिजयी

यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ३ लाई डिएल मेथडअनुसार ३० रनले पराजित गर्दै प्रदेश ५ ले पनि सेमिफाइनलमा लगभग स्थान पक्का गरेको छ। प्रदेश ५ अन्तिम खेलमा नेपाल पुलिससँग फराकिलो अन्तरले हारेमात्र सेमिफाइनल पुग्न असफल हुनेछ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ४४.५ ओभरमा सबै विकेट गुमाएर १५२ रन बनाएको थियो। भुपेन्द्र थापाले सर्विधक ४६ रन बनाएको एनिङ्मा रुपेश श्रीवास्तवले नटबउट २१ रन बनाए।

बलिङमा प्रदेश ५ का लाल खअधिकारीले ४ तथा कृष्ण कार्की, सन्दीप सुनार र विक्रम भुसालले २-२ विकेट लिए।

२०.५ ओभरमा ३ विकेट गुमाएर ८९ रन बनाउदा खेल वर्षाले प्रभावित भएपछि डिएल मेथड अनुसार प्रदेश ५ लाई विजयी घोषणा गरिएको हो। प्रदेश ५ का लागि सन्दीप सुनारले ३८ रन बनाए। हारपछि ३ खेलबाट २ अंक मात्र जोडेको प्रदेश ३ प्रतियोगिताबाट बाहिरिएको छ।