कीर्तिपुरः प्रधानमन्त्री कप ‘एक दिवसीय क्रिकेट’ प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले उचालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै सशस्त्र बिजयी बनेको हो ।

आर्मीले ५० ओभरमा दिएको २१० रनको लक्ष्य सशस्त्रले ४ विकेटको क्षतिमा ४१ ओभर २ बलमै पूरा गर्दै उपाधि चुम्न सफल भएको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित् ५० ओभरमा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो ।

विजेता सशस्त्रले ट्रफीसहित २० लाख तथा उपविजेता आर्मीले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका सागर पुन घोषित भए । उनले एक लाख रुपैयाँ पुरस्कार पाए ।

त्यसैगरी, उत्कृष्ट बलर सुशन भारी घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान प्रदीपसिंह ऐरी भए । दुवैले समान ५०र५० हजार रुपैयाँ पुरस्कार पाए ।