काठमाडौंः नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेट गरेका छन् ।

आज बिहान नेपाली सेनाको जंगी अड्डा पुगेका नरवणे र प्रधानसेनापति थापाबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भएको थियो ।

उक्त भेटवार्ताका क्रममा प्रधान सेनापति थापा र भारतीय सेनाध्यक्ष नरवणेबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो ।

छलफलपछि भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाहरुका बारेमा प्रस्तुतिकरण गरिएको थियो ।


आजै बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका भारतीय सेनाध्यक्ष नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गरेका थिए ।

यसैगरी, भारत सरकारको तर्फबाट जनरल नरवणेले नेपाली सेनाका लागि सहयोग स्वरुप दुई वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गरेका थिए । नेपाली सेनाका तर्फबाट प्रधानसेनापति थापाले पनि भारतीय सेनाको लागि नेपालमै निर्मित १ लाख थान मेडीकल मास्क र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गरेका थिए ।

तीन दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका नरवणेले काठमाडौंको टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा (शहीद स्मारक) माल्यार्पण गरी शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि जंगीअड्डा पुगेका उनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो ।

आजै साँझ जनरल नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २० बिहीबार, १५:२३