काठमाडौंः प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आइतबाट सुरु भएको छ ।

नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको सहकार्यमा सञ्चालित उक्त प्रतियोगिताको प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालयस्थित खेल मैदानमा उद्घाटन गरे ।

आगामी पुस ९ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीन प्रदेशका गरी ८ फुटबल टोली सहभागी छन् । आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागिता रहेको प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं १ लाई शून्यका विरुद्ध नौ गोलले पराजित गरेको छ ।


आर्मीका लागि शर्मिला थापा मगर र रेश्मीकुमारी घिसिङले ३–३, विमला चौधरीले २ र सपना लामाले १ गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमा रश्मीको गोलसँगै आर्मीले अग्रता लिएको थियो । ७ औं मिनेटमा शर्मिलाले दोस्रो गोल थपिन् । दोस्रो गोल गरेको तीन मिनेटमा शर्मिलाले नै आर्मीलाई ३–० को अग्रता दिलाएकी थिइन् । सपनाले ४२ औं र बिमलाले ४५ औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो हाफमा ५–० को अग्रता दिलाए ।

५८ औं मिनेटमा आर्मीकी सर्मिलाले टोलीका लागि छैठौं तथा ह्याटिक पूरा गरिन् । ६५ औं मिनेटमा रश्मीको गोलसँगै आर्मीको अग्रता ७–० पुग्यो । ७४ औं मिनेटमा बिमलाले टोलीका लागि आठौं तथा ब्यक्तिगत दोस्रो गोल गरिन् । खेल सकिन ७ मिनेट बाँकी रहँदा रश्मीले टोलीका लागि नवौं तथा ह्याटिक पूरा गरिन् । बाँकी समय कुन गोल नभएपछि आर्मीले ९–० को सहज जित निकाल्न सफल भयो ।

आर्मीको जितमा ह्याट्रिक गरेकी सर्मिला वुमन अफ द म्याच घोषित भइन् ।

लिग र नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीले रु ५०/५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ ।

यस्तै उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु १०/१० हजार प्रदान गरिनेछ ।

सेनाले २०७० सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ ।


प्रकाशित मितिः सोमबार, मंसिर ३०, ०८:४७