काठमाडौंः नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले आज पूर्वका विभिन्न गणको निरीक्षण गरेका छन् ।

प्रधानसेनापति थापाले आज मोरङ्ग जिल्लामा रहेको श्री भैरव गण तथा श्री कालीशक्ति गण (ई) र तेह्रथुम जिल्लामा रहेको श्री देवीबक्स गुल्मको निरीक्षण भ्रमण गरेका हुन् ।

सो क्रममा प्रधानसेनापति थापाले उक्त युनिटहरुको स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

प्रधान सेनापतिले भोलि इलाम, झापा तथा उदयपुरमा तैनाथ क्रमशः श्री पशुपति प्रसाद गण, श्री नयाँ श्रीनाथ गण र श्री रणशार्दुल गणको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा, काठमाडौंले जनाएको छ ।



प्रकाशित मितिः २०७८ साल वैशाख १६ गते बिहीबार, १९:५७