काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ गते हुने चीन भ्रमणका बेला नेपालका ठूला आयोजना निर्माणबारे छलफल हुने भएको छ । चीनले ठूला जलविद्युत् आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै सरकारसँग प्रस्ताव माग गरेको छ ।

ऊर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त छलफलमा चीनको माग बमोजिम आयोजना एवम् प्रसारण लाइनको टुंगो लगाइएको छ । ५ जलविद्युत आयोजना र ५ प्रसारण लाइन आयोजनाको सुची ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयमा पठाई सकेको मन्त्रालयले जनाएको छ । ती आयोजना सम्बन्धी विस्तृत जानकारी समेटिएको प्रतिवेदनसमेत चिनियाँ पक्षलाई पठाइने मन्त्रालयले जनाएको छ ।


मन्त्रालयले ७ सय ६२ मेगावाटको तमोर, ४५० मेगावाटको किमाथांका अरुण,  ३ सय मेगाावटको उत्तरगंगा,  ४१० मेगावाटको नलसिंहगाड र ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना सहित  गल्छी–केरुङ ४ सय केभी, बुटवल–अत्तरिया–महेन्द्रनगर ७६५ केभी, पूर्व–पश्चिम पहाडी लोकमार्ग ४ सय केभी प्रसारण लाइन, मस्र्याङ्दी–काठमाडौं ४ सय केभी, कर्णाली र कोसी करिडोर प्रसारण लाइन आयोजनाको नाम पठाएको हो ।

यस्तै नेपाल–चीन प्रसारण लाइन निर्माणका लागि पनि चिनियाँ पक्षले चासो देखाइरहेको मन्त्रालयले बताएको छ । पहिलो नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणका निम्ति ग्रिड कर्पोरेसन अफ चाइनाले जेठ पहिलो साता आआफ्नो भूभागको प्रसारण लाइन निर्माणको खर्च आफै बेहोर्ने भन्दै प्राधिकरणलाई पत्र पठाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीनले एक जलविद्युत् आयोजना र प्रसारण लाइन उपहारस्वरूप बनाइदिने र केही आयोजनाका लागि सहुलियतमा ऋण उपलब्ध गराउने सम्भावना रहेको छ ।