सुनसरीः ललाई फकाई प्रलोभनमा पारी दुई जना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी कृष्ण सवरन गाउपालिका–४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान नगरपालिका–१९ कटाह बस्ने २९ वर्षीय जिवछकुमार साह रहेका छन् ।

स्थानीय प्रहरीले सशस्त्र प्रहरी बल समेतको सहयोगमा सुनसरी कोशी गाँउपालिका–८ पूर्वी टोला नाका र भारतको सुपोल जिल्ला भिमनगर–१२ बोर्डर इलाकाबाट ती महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले भारत सुपौल भिमनगरस्थित बाबाको मन्दिरमा पूजामा बस्नु पर्ने, पूजामा बसे वापत पारिश्रमिक पाउने, कुनै दुःख बिमार भए सो समेत सञ्चो हुने र पूजा समाप्त हुनासाथ घर फिर्ता गरीदिने भनि प्रलोभनमा पारी ललाई फकाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



प्रकाशित मितिः बिहीबार, असोज १५, २०७७, २०:४८