काठमाण्डौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको निर्देशनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समस्याग्रस्त प्रसारण लाइनको स्थलगत अवलोकन तथा निरिक्षण गरी समस्या समाधान गर्ने प्रयास गरेका छन् । देशभर प्रसारण लाइन निर्माणमा समस्या बढ्दै गएपछि मन्त्री पुनले प्राधिकरणलाई कामको गति बढाउन निर्देशन दिएका थिए ।

प्रसारण लाइनको निर्माण समयमा पूरा नहुने भएपछि दोर्दी खोला कोरिडोरमा निर्माणाधीन आधा दर्जन जलविधुत् आयोजनाको विधुत् समेत खेर जाने देखिए पछि  आयोजनाको विधुत् खेर जान नदिन पनि मन्त्री पुनले नेतृत्वलाई दबाब दिएका हुन् ।

प्राधिकरणको टोलीले यसै साता लमजुङस्थित मर्स्याङ्दी तथा दोर्दी कोरिडोर प्रसारण लाइन निर्माणको निरिक्षण गरेको छ ।


। यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न आयोजना तथा सरोकारवाला पक्षको ध्यानाकर्षणसमेत गराइएको छ । दोर्दी तथा मर्स्याङ्दी कोरिडोरमा निर्माण हुने आयोजनाको विधुत् कुनै पनि हालतमा खेर जान नदिने घिसिङले बाचा गरे । दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना पूरा हुन कम्तिमा २ वर्ष लाग्ने र उक्त अवधिसम्म प्रसारण लाइन तयार हुने उनको भनाइ छ ।

प्रसारण लाइन तथा सबस्टेसनको काम तीव्ररूपमा अघि बढाउन घिसिङले आयोजना प्रमुखलाई निर्देशनसमेत दिएका छन् । घिसिङसहितको टोली शनिबार प्रसारण लाइन निर्माणको प्रगति अवलोकन गर्न त्यस क्षेत्रमा गएका थिए ।  टोलीले लमजुङको उदिपुर, कीर्तिपुर तथा टारिकुना निर्माण हुने र तनहुँको मार्कीचोकमा निर्माणाधीन सब स्टेसनको निरीक्षण गरेको थियो ।

कीर्तिपुरमा सबस्टेसन निर्माण हुने ४८ रोपनी जग्गामा २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ले विधुत् गृह बनाउने ठाउँ खन्दा निक्लिएको ढुंगा माटो फालिदिएकाले प्राधिकरणले काम शुरु गर्न सकिरहेको छैन।  सबस्टेसन निर्माण हुने जग्गामा थुपारिएको ढुंगा माटो तुरुन्त हटाउन पनि प्राधिकरणले निर्देशन दिएको छ ।

दोर्दी करिडोरमा निर्माण भइरहेका आयोजनाको विधुत् प्रवाह गर्न उदिपुरमा सबस्टेसन निर्माण गर्नुपर्नेछ । सबस्टेसन निर्माणका लागि तीन महिनाभित्रमा ठेकेदार छनोट भइसक्ने आयोजनाले जनाएको छ । उदिपुर–मार्किचोक–भरतपुर प्रसारण लाइन निर्माणका लागि जनवरी २०१८ बाट ठेक्का कार्यान्वयनमा गइसकेको छ ।