काठमाडौंः काठमाडौं महानगरपालिका बालाजु माछापोखरी क्षेत्रमा प्रहरीको ईन्सपेक्टर हुँ भनि सर्वसाधारण व्यक्तिहरुलाई धाक धम्की दिई रकम माग गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका–८ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–३ बस्ने २३ वर्षीय रमेश तामाङ, दोलखा मेलुङ गाउँपालिका–५ डाँडाखर्क घर भई काठमाडौं वनस्थली ढुङ्गेधारा बस्ने ३३ वर्षीय तुल बहादुर मगर र नवलपरासी कावासोती नगरपालिका–१२ पिठौली घर भई काठमाडौं स्वयम्भु बस्ने ३६ वर्षीय गुविराम घले रहेका छन् ।

धाक धम्की दिँदै रकम माग गरी दुस्ख हैरानी दिई अशान्ति श्रृजना गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाईएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २६ बुधबार, २०:०६