• के.बि.साउद

मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले सुरु गरेको अति विशिष्ट कार्यक्रम ‘प्रहरी मेरो साथी’ अभियान केही समययता कार्यान्वयनमा कमजोर भएको त छ नै कार्यक्रम सुरु गर्दा राखिएका बोर्डको अवस्था पनि अस्तव्यस्त छ । नागरिक, समुदाय सुरक्षामा केन्द्रित सबै कार्यक्रमहरु ‘प्रहरी मेरो साथी’ को अवधारणामा समेटिने गरी सरकारको आव २०७२/०७३ को नीति तथा कार्यक्रममा समावेश गरेको अभियान मुलुकका सबै जिल्लामा सञ्चालन भएको थियो ।

तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको समयमा नेपाल प्रहरीले सुरु गरेको ‘प्रहरी मेरो साथी’ अभियान प्रहरी मातहतका निकायकै बेवास्ताले पछिल्लो समयमा निष्कृय जस्तै देखिएको छ ।


। प्रहरीलाई जनमैत्री बनाई समाजिक विकृति, दुर्घटना तथा अपराध नियन्त्रण गर्दै समाजमा शान्ति सुरक्षालार्इ मजबुत बनाउन यो कार्यक्रम सुरु गरिएको थियो । आमनागरिकलार्इ समेत प्रहरीका दैनिक गतिविधिमा सहभागी गराएर अघि बढ्न प्रहरी मेरो साथी कार्यक्रम प्रभावकारी हुने विश्वासका साथ ल्याइएको थियो । आमजनतामा प्रहरीलार्इ कुनै फरक वा विशिष्ट व्यक्ति नमानी साथी सरह मान्ने भावना जाग्रित गराउन र उनीहरुसँग साथीको सम्वन्ध विकास गर्न सुरु भएको अभियान हाल निष्कृय जस्तै भएको छ ।

प्रहरीको मुख्य कार्यक्षेत्र समाज हो समाजमा शान्ति सुव्यवस्था कायम गर्नु नै उसको प्रमुख दायित्व हो । त्यसैले पनि उक्त अभियान निकै प्रभावकारी हुने आशा गरिएको थियो । यो कार्यक्रम यति गरिमामय र जनपक्षीय भएकाले काठमाडौं प्रहरीको नेतृत्वले यसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानु पर्नेमा कार्यान्वयन तथा अनुगमनमा बेवास्ता गर्दै जाँदा बेकम्मा बन्दै गएको छ ।

अभियानको उद्घाटन गर्दै तत्कालिन गृहमन्त्री शक्ति बस्नेतले समाजमा पूरा गर्नुपर्ने दायित्व र परिवर्तनको मूल्य मान्यतालाई संस्थागत गर्न ‘प्रहरी मेरो साथी’ अभियानले योगदान पुरयाउने बताउँदै अभियानलाई नाराका रुपमा मात्र नभएर प्रभावकारी कार्यान्वयनमा जोड दिन निर्देशन समेत दिएका थिए । उनले अभियानलार्इ सबै कार्यक्रमसँग जोडेर लैजान सके गुणात्मक नतिजा हासिल गर्न सकिने समेत बताएका थिए । मन्त्री बस्नेतले आशंका व्यक्त गरे जसरी नै आज उक्त अभियान नारामा मात्रै सीमित हुन पुगको छ । तत्कालीन प्रहरी महानिरीक्षक अर्यालले आम नागरिकले अपेक्षा र प्रहरीले गरेको शान्ति सुरक्षा सेवाबीच देखिँदै आएको खाडललाई पुर्न अभियान सञ्चालनमा ल्याइएको बताएका थिए ।

तामझमका साथ सुरु गरिएको अभियान अहिले निष्किृय मात्र होइन राखिएका बोर्ड, ब्यानरको पनि दुर्गति देखिन्छ । जुन एक प्रहरीलाइ माया र सहयोग गर्ने जिम्मेवार नागरिकले हेर्न सक्ने स्थितिमा छैनन् । कहीं च्यातिएका कहीं खुइलिएका कहीं ढलेका अवस्थामा छन् । तिनको मर्मत सम्भार तथा संरक्षण गर्नसम्म पनि काठमाडौं प्रहरी चुकेको छ । जसले गर्दा कार्यक्रमको प्रभावकारिता नै समाप्त हुने अवस्था आएको छ ।

के भन्छ त प्रहरी ?

निकै संवेदनशील ठाउँको सुरक्षा जिम्मेवारी समालेका महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायव उपरीक्षक काजिकुमार आचार्य ‘प्रहरी जनतासग नजिक हुने, समन्वय र सहकार्य गर्ने माध्यमका रुपमा आएको अवधारणा हो । त्यसै अन्तर्गत प्रहरी काम गर्छ । हो नागरिकलाई सुसूचित गराउने हिसाबले राखिएका कतिपय बोर्ड च्यातिएको, भत्किएको, कुच्चिएको सही हो । तिनको मर्मत गर्नुपर्छ, हामी पहल गर्दैछौं ।’ उनी भन्छन्– प्रहरी मेरो साथी स्लोगनले प्रहरीलार्इ जनताले निर्धक्क आफ्ना समस्या तथा गुनासा राख्न सक्ने भएका छन् । नागरिकले विभिन्न माध्यमबाट सूचना दिने गर्नुभएको छ । जसले गर्दा हामीलार्इ काम गर्न सहज भएको छ । जनताले हामीलार्इ साथी सरह व्यवहार नगरेको भए रातदिन नभनी काम गर्न सक्दैनथ्यैं । सबै नागरिकसग समन्वय र सहकार्य गरी अगाडि बढिरहेका छौं । यसमा प्रहरी मेरो साथी या टोलटोलमा प्रहरी किन नहोस् यी यस्ता अभियानले अहम् भूमिका खेलेका छन् ।’

प्रयोग विहिन बन्दै राजधानीको आकाशे पुल

समुदायसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रहरी संगठनले ल्याएका हरेक नीति तथा कार्यक्रममा आमजनतको सरोकार रहनु स्वाभाविक हो । प्रहरीका ती कार्यक्रम जो जनताको सहकार्य र सहयोग बिना कार्यान्वयन हुन सक्दैनन् । प्रहरी जनसमुदायका बीचमा गएर हातेमालोका साथ काम गर्ने गरी सुरु अभियानले निरन्तरता नपाउँदा आमनागरिक अन्योलमा पर्ने गरेका छन् ।

के भन्छन् आमनागरिक ?

प्रहरीले सबै नागरिकलाई समान रूपमा हेर्नुपर्ने, डर, धम्कीको भाषा होइन समानता र सम्मानको व्यवहार गर्नुपर्ने भनाइ काठमाडौंको अनामनगरमा किराना व्यापार गरिरहेका राजेशको भनाइ छ । उनी भन्छन् यो लोकतन्त्रको जमाना मात्रै नभर्इ विज्ञान प्रविधिको युग हो, प्रहरी परम्परागत रूपमा होइन नयाँ तरिकाले अगाडि बढ्नुपर्छ ।

मुस्कानसहितको प्रहरी सेवा, लेन मिचेर सवारी चलाउनेलाई कारबाही, आकशे पुल भएको ठाँउबाट रोड क्रस गर्नेलाई जरिवाना गर्ने, सार्वजनिक क्षेत्रमा धूमपान गर्न नपाइने तथा गाडी चढ्दा क्यु सिस्टम लगायत प्रहरीले समयसमयमा ल्याएका कार्यक्रम हुन् ।

नयाँ–नयाँ कार्यक्रम ल्याउनु आफैमा नराम्रो होइन तर पुराना कार्यक्रमलाई निरन्तरता दिंदै प्रभावकारी कार्यान्वयन गर्न सके प्रहरीमाथि आमनागरिकको विश्वास बढ्ने मात्र नभई कार्यक्रम प्रभावकारी हुने भनाइ स्नातक तहमा अध्यनरत निराजन घिमिरेको छ । उनी भन्छन्– ‘बच्चा अवस्थामा प्रहरीले पक्रन्छ भन्ने भय सिर्जना गरिदिन्थे तर अहिले आएर त्यो डर हटेको छ । प्रहरीसँग नागरिकको डर हटाउन ल्याइएको प्रहरी मेरो साथीलाई पूर्ण कार्यान्वयन गर्नुपरयो । लोकतन्त्रको जमानामा आम नागरिकको मनमा डर, त्रास रहन दिन हुन्न । प्रहरीले आमनागरिकलाई साथीको व्यबहार
गर्नुपर्छ।’

सार्वजनिक स्थानमा धुम्रपान गर्दै

नयाँ हुन् या पुराना कार्यक्रम संगठन तथा नेतृत्व तहले निर्देश गरेका जुनसुकै कार्यक्रम मन, वचन र कर्मले सफल बनाउन लाग्ने हाम्रो कर्तव्य हो । प्रहरी जवान देवेन्द्र विश्वकर्माको भनाइ छ । हामीलाइ के कति कारणले कुन कार्यक्रम बन्द भए थाहा हुँदैन तर माथिबाट निर्देशित भई आएका कार्यक्रम सफल बनाउन लाग्छौं, यति मात्र थाहा हन्छ ।

भर्खरै प्रहरी संगठनले सर्वेन्द्र खनालको नेतृत्व पाएको छ । यो नेतृत्वले यातायातमा सिन्डिकेटको अन्त्य, गुन्डागर्दी र संगठित अपराधको विरुद्ध योजनाबद्ध रणनीति, संगठित तस्करी विरुद्धको अभियान तथा टोलटोलमा प्रहरीजस्ता महत्वपूर्ण कार्यको सुरुवात गरेको छ । यस्ता विशेष कार्यक्रमलाई निरन्तरता तथा प्रभावकारी बनाउन नेतृत्व त निरन्तर लाग्नैपर्छ नै यत्तिकै मातहतका नेतृत्वले यस्ता महत्वपूर्ण कार्यको गरिमा बुझेर कार्यान्वयनमा गम्भीर हुनु आवश्यक छ । त्यसैमा पनि काठमाडौं प्रहरी अति महत्वपूण जिम्मेवारीमा भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन उसले विशेष सक्रियता दिनु आवश्यक छ । काठमाडौं देशको अति महत्वपूण तथा संवेदनसील क्षेत्र हो, यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको प्रत्यक्ष आँखा पर्छ । यहाँ कुनै पनि कार्यक्रम सफल रुपमा सञ्चालन तथा कार्यान्वयन गर्न सके यसको प्रभाव देशका हरेक क्षेत्रमा पर्नजान्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल प्रहरीका योजना र कामको प्रभावकारिता प्रस्तुत गर्ने क्षेत्र पनि काठमाडौं नै हो ।

सडकबीचमै यात्रुहरुलाई सवारी साधनमा चढाउँदै

यद्यपि काठमाडौं प्रहरी परिसरले बदलिंदो परिवेशमा अनेकौं कार्य गर्नुपर्छ, उसले बोर्ड, व्यानरमै ध्यान केद्रित गरेर मात्र पुग्दैन तर पनि साना कामले समेत उत्तिकै महत्व राख्छ । काठमाडौं परिसरले प्रहरी संगठनले विगतमा लागू गरेका कार्यक्रम तथा तय गरेका योजना र रणनीतिको निरन्तरता दिंदै अहिलेका कार्यक्रमलाई सक्रियतापूर्वक अघि बढाउनु आवश्यक छ न कि सस्तो लोकप्रियता र आत्मकेन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्नु । विगतमा सुरु गरिएका नीति तथा  कार्यक्रमलाई सक्रिय कार्यान्वयनमा लैजाँदै वर्तमान नेतृत्वले सुरु गरेका नीति तथा  कार्यक्रमलाई कार्यान्वयनमा लैजानु अति आवश्यक छ । सस्तो लोकप्रियता र आत्मकेन्द्रित कार्यक्रमले कहिल्यै पनि प्रहरी संगठनलाई समयानुकूल बनाउन सकिन्न ।