काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक घटनाको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

६४ औं प्रहरी दिवसमा आज नेपाल प्रहरी मुख्यालय नक्सालमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पद, अनुहार या दलको वास्ता नगरी हरेक घटनाको निष्पक्ष अनुसन्धान गर्न प्रहरी स्वतन्त्र रहेको पनि बताए ।

हालै निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउको घटनातर्फ लक्षित गर्दै ओलीले भने ‘कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नु पर्दैन । कसले अपराध गर्‍यो वा कुन ओहोदामा छ त्यसलाई हेरेर अनुसन्धान गर्ने हैन । निष्पक्ष अनुसन्धान गर्नुपर्छ। अनुहार हेरेर अनुसन्धान गर भनेर दबाब दिनुहुन्न।


।’

सामाजिक सञ्जाल दुरुपयोगका घटना रोक्ने चुनौती प्रहरीमा पनि थपिँदै गएको उनले बताए । प्रहरीको काम कर्तव्यको उच्च कदर गर्दै खुलेर प्रशंशा गरे ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतले पनि प्रहरी अनुसन्धान र यसका गतिविधिबारे आफ्नो धारणा राखेका छन् ।

नेपाल प्रहरीले कामको सिलसिलामा २०५३ सालदेखि २०७६ सालको अवधिमा ज्यान गुमाएका ४३ जना प्रहरीहरुलाई ‘अमर प्रहरी’ घोषणा गरेको छ ।

यसैगरी प्रहरीले यस वर्षको ‘लाईफटाइम अचिभ्मेन्ट’ अवार्ड पूर्व एआइजी यादब अधिकारीलाई दिने निर्णय गरेको छ ।

यस्तै यस वर्षको ‘उत्कृष्ट कार्य सम्पादनतर्फको अवार्ड’ हाल मोरड प्रहरीमा कार्यरतः एसपी मनोज केसीलाई प्रदान गरिएको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २४, १०:५१