काठमाडौंः नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा नवनिर्मित रक्तसञ्चार केन्द्र र फिजियोथेरापी रिहाविलिटेशन युनिटको बुधबार उद्घाटन गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा नवनिर्मित रक्तसञ्चार केन्द्रको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले संयुक्त रुपमा तथा फिजियोथेरापी रिहाविलिटेशन युनिटको प्रहरी महानिरीक्षक खनालले उद्‍घाटन गरेका थिए । उद्‍घाटन पश्चात उनीहरुले उक्त केन्द्र र युनिटको अवलोकन समेत गरे ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले प्रहरी महानिरीक्षक खनाललाई बैंकको तर्फबाट सहयोग स्वरुप ४० लाख रुपैयाँ बराबरको चेक समेत हस्तान्तरण गरे ।


समारोहमा प्रहरी महानिरीक्षक खनालले प्रहरीले कर्तव्य निर्वाहको क्रममा आइपर्ने जोखिमलाई न्यूनीकरण गर्न नवनिर्मित केन्द्र र युनिटले सहयोग पुर्‍याउने बताए । प्रहरी अस्पतालले प्रदान गर्ने सेवाको गुणस्तरमा अझै वृद्धि गर्न प्राप्त साधनस्रोत थप उपयोगी हुने उनले उल्लेख गरे ।

नेपाल प्रहरी अस्पतालले बाढी, पहिरो लगायतका विषम परिस्थितिमा समेत समुदायमा गएर प्रदान गर्दै आएको सेवा अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले उपचार सेवालाई थप प्रभावकारी बनाउन इमानदारिता, लगनशील र एकजुट भई अगाडि बढ्न नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

राष्ट्रिय वाणिज्य बैंकले एटिएम सञ्चालन, समुदाय–प्रहरी साझेदारी कार्यक्रममा पुर्‍याएको सहयोग लगायतका कार्य उच्च प्रशंसनीय रहेको बताउँदै अन्य विविध कार्यक्रममा सहयोग र समन्वय हुने विश्वास उनले व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल प्रहरीसँग थप अन्य क्षेत्रमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रहरी महानिरीक्षक खनालले प्रहरी अस्पतालमा कार्यरत उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गरे ।


प्रकाशित मितिः बुधबार, पुस २, १५:४१