काठमाडौंः प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै संगठनले लागू गरेको नेपाल प्रहरी कार्य योजना र प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता लगायतका नीति निर्देशनलाई अक्षरस पालना गरी लागू गर्नुपर्ने बताएका छन् ।

हालै सरुवा भई जान लागेका प्रहरी उपरीक्षकहरु र प्रहरी नायव उपरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले हालको परिस्थितिलाई मनन र विष्लेषण गरी सोही अनुरुपको कार्य योजना बनाई अगाडि बढ्न सरुवा भई जान लागेका प्रहरी अधिकृतहरुलाई निर्देशन दिए ।

हालको सुरक्षा चुनौति व्यवस्थापन, तस्करी तथा गुन्डागर्दी नियन्त्रण र नेपाल सरकारद्वारा घोषित निर्वाचनलाई मध्यनजर राखी आवश्यक तयारीमा जुट्नुपर्नेमा उनले जोड दिए ।


सेवाग्राहीले देख्ने र भोग्ने गरी प्रहरी कार्यमा सकारात्मक परिवर्तन आएमा तपाईको उपस्थिति सार्थक हुने हुनाले सबैले आफ्नो कर्तव्य र संगठनले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने उनले उल्लेख गरे । कार्यालय व्यवस्थापन, साधनस्रोतको उचित परिचालन र मर्मत सम्भार लगायतका दैनिक क्रियाकलापमा विशेष ध्यान दिई चुस्त दुरुस्त रुपमा प्रस्तुत हुन समेत उनले निर्देशन दिए ।

प्रहरी प्रधान कार्यालयले यही पुस मंगलबार ३० जना प्रहरी उपरीक्षक र ६९ जना प्रहरी नायब उपरीक्षकको सरुवा गरेको थियो ।


प्रकाशित मितिः २०७७ साल पुस २३ गते बिहीबार, २२:०५