काठमाडौंः भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाई गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।

उनले आजै बिहान नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ तालिमरत शिक्षार्थिहरुलाई सम्बोधन गर्दै आफ्नो लामो सैनिक सेवाबाट प्राप्त उपयोगी अनुभवहरुका बारेमा बताएका थिए ।

यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।



प्रकाशित मितिः २०७७ साल कार्तिक २१ शुक्रबार, १९:१५