काठमाडौंः फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बन्ने भएकी हुन् ।

उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरुले गर्नेछन् ।

प्रधानमन्त्री एन्टी रेनीले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो । उनले यही साता पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ ।

पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन् ।


हुलाक सेवामा भएको हडतालको विषयमा प्रधानमन्त्री रेनीले विश्वासको मत गुमाएपछि उनले राजीनामा दिए ।

प्रधानमन्त्रीको पद सम्हालेपछि मरिन विश्वकै सबैभन्दा कम उमेरकी पदासीन प्रधानमन्त्री बन्नेछिन् ।


प्रकाशित मितिः सोमबार, मंसिर २३, १४:२८