काठमाडौंः विदेशमा रहेका नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरण गर्न छोडेसँगै ताहाचलमा रहेको श्रम कार्यालय सुनसान भएको छ । सरकारले अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति रोके पनि पूर्व स्वीकृतिका काममा व्यस्त रहेका कर्मचारी आइतबारदेखि विदेशस्थित दूतावासले माग प्रमाणीकरण गर्न छोडेपछि श्रम कार्यालय सुनसान भएको हो । त्यहाँ काम गर्ने कर्मचारी पनि फुर्सदिला भएका छन् ।

दूतावासले अनलाइनमार्फत मागपत्र प्रमाणीकरण गरेर पठाएपछि वैदेशिक रोजगार कार्यालय ताहाचलले मागपत्रको पूर्वस्वीकृति दिँदै आएको थियो तर दूतावासले नै मागपत्र नपठाएपछि कार्यालयका कर्मचारी फुर्सदिला भएका छन् ।


कार्यालय प्रमुख उमेश बस्नेतले मागपत्र पूर्वस्वीकृतिका लागि केही मात्रामा पुराना फाइल आए पनि नयाँ फाइल आउने क्रम रोकिएको जानकारी दिए ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले अनिश्चितकालीन रुपमा श्रम स्वीकृति रोकेको भन्दै विदेशस्थित अधिकांश नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरण गर्ने कार्य स्थगित गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) र ओमान नेपाली दूतावासले आइतबारदेखि श्रमिकको माग प्रमाणीकरणका कार्य अनिश्चित समयका लागि स्थगित गरेको जनाएका छन् । त्यस्तै कुवेत र कतारस्थित नेपाली दूतावासले पनि यसअघि नै अनिश्चितकालीन समयसम्मका लागि मागपत्र प्रमाणीकरण स्थगित गरिसकेका छन् । बहराइनले पनि दूतावासमा भीडभाड कम गर्न भन्दै अत्यावश्यक सेवाबाहेक अन्य कार्य स्थगित गरेको जनाएको छ । यो समाचार आजको गोरखापत्र मा छ ।


प्रकाशित मितिः मंगलबार, चैत ४, ०७:३८