आत्मराम सरको चौथो पिरियड खाली थियो । विज्ञान पढाउने आत्मराम सर क्लासमा नआउने भएपछि कक्षाका सबै बाहिर निस्किए । केटाहरु प्राय बल खेल्न त केटीहरु घाम ताप्न थाले । कक्षा ६ का विद्यार्थीलाई डिस्टब हुन्छ भनेर केटाहरु सबै बल खेल्न खोला तिरको कोर्टमा लागे । म पनि भलिवल खेल्न भनेर खोलातिर लागे । कारबोटेको गोठमाथि पुग्दा उजेलीले मलाई जिस्काउँदै भनी अर्जुन आउ अमिलो खाउ । म पनि त्यो जाडोमा केटीहरुसित बसे र मस्किँदै अमिलो त्यस माथी चुक हालेको जिरे खुर्सानी सहित खान भनेर तम्सिएँ । सबैले अमिलो खाइरहँदा गीर्वाणीले नुन अमिलो नखाएको देखेर खाउ न भनेर मैले भनेँ । अन्य साथीहरुले उसलाई र मलाई जिस्काउँदै भने जसका निम्ति ब्रत बसेको त्यसैले खा भनेपछि त खाएपनि हुन्छ है ।


। म अबाक् भएँ । त्यसै त लजालु मान्छे म त लाजले उठेर हिँडीहालेँ ।

करिव दुई हप्तापछि स्कुल जाने बाटोमा पर्ने पुल तरेर खेतको आलीमा बसेका दुईटी केटीले मलाई बाटो छोडिदिएनन् । ती दुई मध्ये एकजना मलाई माया गर्ने र अर्को उनकी साथी थिइन् । म पनि भर्खर राजनीतिमा लागेको मान्छे किन किन मसँग मान्छे नजिकिन चाहन्थे । सामान्य राजनीतिका कुरा गरेर अघि बढेको बेला स्कुल मुनिको कुलोमा फड्किने बेला गीर्वाणीले मेरो झोलामा केही राखिदिई । स्कुलमा दश बजेको घण्टी लागिसकेकोले गर्दा पनि मैले हेर्न पाइन । लाइन लगाएर श्रीमान् गम्भीर नेपाली ….. र या कुन्देन्दुतुषार भनेर कक्षा भित्र गएर हेरेको त चिठी रहेछ । हत न पत जाँगेको गोजीमा राखिहाँले ।

शुक्रबारको दिन थियो । कतिबेला एक बज्छ र   मजाले हेरौंला भन्ने मनमा वेग छचल्किएको थियो । आमाले अझ पारी  हुलाकमा गएर पल्टनबाट बाको चिट्ठी आको भा ल्या समेत भन्नुभाथ्यो तर कता कता आफुलाई मन पारेर कसैले पठाएको पत्र पढ्न बालाई समेत बिर्सियो । भट्टराई कान्छाको घरबाट उता लागेर माइलादाईको घरवरीको पिपलमा बसेर पत्र खोलेँ ।

प्राण प्यारो अर्जुन ……………..

माघको चिसो सिरेटोमा तिमीलाई अपूर्व न्यानो माया । भित्ताको घडीले २ बजाइसक्दा पनि मेरा खुट्टा अझै तातेका छैनन् । खाना खाइवरी पल्टिएर निदाउन खोजेको आठ बजे नै हो । निद्रा कहाँ गयो थाहा छैन तर शंका छ पक्कै लोहोरेआँप नै पुग्यो होला ।  तिमी राम्रो छौ। मिठो बोल्छौ । स्कुलका सरहरुले समेत तिमीलार्य मन पराउँछन् । मैले मन पराउनुमा मलाई कुनै दोषी नदेख्नु ल । बँगैचामा फुलेका सबै फूलहरु मन्दिर जाने परम कामनाले निदाउँछन् तर कसलाई के थाहा मसानघाटमा आफु जानपर्छ भनेर । त्यसैले मैले पनि मन्दिर जान पाउने देवताको चरणमा आफुलाई टक्राउन पाउने लालचामा तिमीलाई प्रेम गरेकी छु । हुन त तिम्रा अरु पनि साथी छन् बुझ्छु तर किन किन मलाई तिम्रो हुन मन लागेको छ । सत्यवती स्कुल धेरै राजनीति हुने स्कुल । तिमी पनि नेविसंघको अध्यक्ष भएका थियौ । म नेविसंघ नभएपनि तिम्रो भाषण सुन्न नजिकिने बहानामा नेविसंघ तिर लागेकी थिएँ । तर तिमीले कहिल्यै मेरो कुरा बुझेनौ ।

मामाघरमा बसेर कक्षा आठ पास गरेर हँसरा स्कुलमा पढ्न आएपछि पहिलो शुक्रबारको कार्यक्रममा तिमीले भाषण गरेको देखेपछि किन किन मलाई मन परेको थियो । हुन त तिमीलाई नराम्रो लुखुरे भन्ने पनि थिए तर किन किन तिमीमा कहिल्यै नराम्रो खोज्ने साहस ममा आएन । जतिबेलादेखि म तिम्रो प्रेममा परेँ। मेरा दिनरात कसरी बितिरहेका छन् मलाई थाह छैन । रातको बाह्र बजे गोठमा लाल्टिन बालेर मैले के लेखिरहेकी छु, आफैंलाई थाहा छैन । जे होस् केही न केही त लेखिरहेछु ।

कक्षामा तेस्रो लहरमा बस्ने तिमीलाई हेर्न दोस्रो लहरमा बसेकी मैले कति बहाना बनाउन पर्छ होला यो कुरा सायद तिमीले बुझ्दैनौ । अर्जुन एकान्तमा रहँदा मलाई छटपटी हुन्छ । तिम्रो सम्झना आएपछि म राति घरको बार्दलीमा जान्छु । पश्चिम फर्केर लोहोरेआँपको अग्लो पिपल हेरेर म तिम्रो कल्पना गरेर बस्छु । कता कता मिर्लिक मिर्लिक उज्यालो बत्ती देखिन्छ । लाग्छ पक्कै तिमी हौला । जसले मैले झैँ भन्न नसकेपनि मेरै कल्पना गर्दो होला । तर यि सब कल्पना मात्र भए केबल कल्पना ।

प्रिय अर्जुन मलाई यस्ता सोचाईले आजकल क्यान्सर भएको छ । कल्पनाको क्यान्सर । छाती,मुटु, रगत, फोक्सोको क्यान्सर भन्दा पनि यो कल्पनाको क्यान्सर खतरनाक हुँदोरहेछ । आजकल म शिथिल हुँदैछु सोचाइको कारण हुँदैछु । कमजोर हुँदैछु भने कल्पनाको कारण हुँदैछु । मरेछु भनेपनि अर्जुन तिम्रै कारण मर्दैछु । आकाशको जूनलाई स्पर्श गर्ने कल्पना गर्नु गलत होइन तर आकाश र धर्तीबीचको दुरीको वास्तविकता स्वीकार्न नखोज्नु चाहिँ गम्भीर कमजोरी हो ।

अर्जुन तिमीले मलाई नेविसंघको सदस्यता दिँदा दिएको सानो प्रमाणपत्रमा देखिएको ए सहितको हस्ताक्षरलाई सुम्सुमाउँदा मात्र मेरो मन कति आह्लादित हुन्छ त्यो तिमीलाई थाहा छैन । मलाई एकपटक तिमीलाई जसरी नी भेट्न मन छ । किन आउँछ याद तिम्रो सधैँ सधैँ साँझमा’ बोलको मधुर गीत रेडियो नेपालमा बजिरहँदा पनि म तिमीलाई सम्झिन्छु ।

तिमी स्वार्थी छौ अर्जुन तिमीले रुपको पछि लागेर पूर्णिमालाई मन पराएका छौ । मैले कसैको आलोचना गरेकी छैन । तर म तिमीबाट आकर्षण होइन माया चाहन्छु । तिमीले मन नपराएनि मेरो कलेजोको कुनामा अझै पनि तिमी नै छौ। तिमीलाई सधैँ यही दिलभित्र सकुशल र सुरक्षित राखेकी छु । म काँडा बनेर तिम्रो प्रेमको म बाधक बन्दिन । किन किन मरेर पनि बाँच्नु छ तिम्रा लागि । मैले एकोहोरो उडाएको हाम्रो मायाको जहाज कहाँ अबतरण हुन्छ मलाई थाहा छैन ।

मेरा कुरा तिमीलाई ‘मजाक’ हुन सक्छ । । चम्चा जस्तो दुनियाँ बाँचेकाहरूसँग भावना हुँदैन । तिमीले धेरै देखेका छौ, मैले देख्न सकेकी छैन । तिमीले धेरै बुझेका छौ, मैले बुझ्न सकेकी छैन । तिमीले धेरै कुरा पढेको छौ, जो मैले अहिलेसम्म पढ्न सकेकी छैन । निर्मोही अर्जुन मेरो तिमीसँग एउटा सानो दाबी छ, तिमीले मेरो हृदयलाई देख्न, बुझ्न र पढ्न कहिल्यै सकेनौँ । जुन दिन सक्नेछौ त्यो दिन ढिला भैसक्नेछ । । तिम्रो र मेरो प्रेम आत्मीय बन्धन हो, जहाँ मनसँग मनको गहिराइ नाप्ने मन छ । के तिमी मेरो यो मनको अनुरोध स्वीकार गर्छौ? के तिम्रो मायामा रम्ने हक दिन्छौ त मलाई ?

तिम्रो जवाफको प्रतिक्षामा गीर्वाणी

सेन्ट अप परीक्षाको तयारी हुँदै थियो । मैले चिठी पढेपछि मनमा तरगं आयो नै । एसएलसी आउन लागेकोले अझ धेरै मिहेनेत गर्नुपर्ने बिहान कोचिङ् दिउसो क्लास साँझ ट्युसन । बिहानको कोचिङ् क्लास सकाएर खाना खान घर जानुपर्ने स्कुलदेखी घर टाढा भएकोले मलाई अलि समस्या थियो । पढाई को चिन्ता दौडधुप धपेडीले मलाई टाईफाईड भएछ । गाउँघरको ओखतीले खासे काम नगरेपछि पूर्ण रानाको फार्मेसीमा उपचार गर्न गएँ । सानो सानो नेता र कक्षामा पनि राम्रै विद्यार्थी भएकोले पनि भेट गर्न थुप्रै साथी आए । त्यसमध्येका दुईजना साथीहरु गीर्वाणी र सावित्रा पनि मलाई भेट्न आए । गीर्वाणीले मलाई बिरामी देखेपछि आँखा टिलपिल पारिन् । त्यो रात म घर फर्किएँ । कति चोखो माया हो स्कुल मा मेरा धेरै साथीहरु छन् । मेरै लागि भनेर पाल्पा सम्म आए भनेर मन रमायो । मैले गीर्वाणीको माया बुभ्न सकिन झैँ लाग्यो ।

एसएलसीमा हाम्रो स्कुलबाट थोरै मात्र पास भयौं । म पढ्न काठमाडौं त्रिचन्द्र क्याम्पसमा गएँ भने उनी गीर्वाणी बुटवल आइन् । काठमाडौंको एकबर्षे बसाईले मलाई पढाई भन्दा ठुलो पैसा हो भन्ने लाग्यो । पैसा भयो भने यो संसारमा केही कमी हुन्न भन्ने सोचको भुत चढ्यो । अव दिमागमा एउटै सपना हर हालतमा अमेरिका जाने । अमेरिका जाने लोभमा शुरुमा १० लाख दिने र काममा लागेपछि थप १० लाख दिने हामीहरु बिच सहमती भयो । तर दलालले ठग्यो । काम लागेन । सबै छोडेर अब अमेरिका हैन सकुशल नेपाल फिर्ता हुन पाए हुन्थ्यो भन्ने भयो । तर कहाँ सजिलो थियो र फिर्ता हुन । बिभिन्न दुःखकष्ट हण्डर खादै करिव १४ महिना पछि बल्ल नेपाल फर्कियो । बाआमाको मन त हो धन्न बाँचेर आईचस् ऋण त तिर्दे गरौला चिन्ता नगर भनेर सान्त्वना दिनुभयो ।

नेपाल आएर बिहे गर्ने मानसिकता बनाएर गीवार्णीसित कुरा गरेँ । तर उनी अहिले पहिला जस्ती रैनछिन् । उनको बिहेको प्रस्ताब सुन्दा म अचम्म परेँ । बिवाहपछि पहाडमा नबस्ने, घरमा दैलो पोतो नगर्ने, बुटवल गोलपार्कमा घर किन्ने म अबाक् भएँ । मैले उनलाई माया प्रेमको कुरा सुनाएँ । उनले पठाएको पत्र पनि सुनाएँ तर उनी एक इन्च डगिनन् ।

केही समय पछि उन्को बिवाह भयो । मैले थाहा पाए अनुसार नेपाल सरकारको एक वरिष्ठ अधिकृतसित । एकपटकको दशैको पूर्णिमामा उनी छम्दी मन्दिरमा देखिइन् । काली काली मान्छे शरीरभर गहनाले ढाकिएर आउँदा उनी कालो हाँडीमा पँहेलो कपडा बेरिएजस्तो देखिन्थिन् ।
केही समयपछि मलाई फेरी घरपरीवार र समाजबाट बिवाह गर्ने दवावलाई स्वीकारेँ । मेले पनि पञ्चे बाजा बजाएरै बिहे गरेँ । घरकी जहान् पनि राम्री थिइन् । पूर्णिमा एग्रिकल्चर फमको कामको सिलसिलामा म कतार गएँ । नेपालमा मैले काम गरेको सबै भिडियो देखाएपछि उनीहरु पनि लोहोरेआँपमा हाम्रो फर्म हेर्न आए । राम्रो काम गरेको भनेर मलाई उत्कृष्ट कृषक पुरस्कार पनि प्रदान गरियो । प्रमुख छापाको मुख पृष्ठमा ‘अर्जुन ज्ञवालीलाई उत्कृष्ट कृषक सम्मान’ भन्ने शीर्षकमा मेरो तस्वीर छापियो । अपशोच त्यसैको साइडमा भने अकुत भ्रष्टाचारको आरोपमा मन्त्रालयका अधिकृत पक्राउ भन्ने समाचार छापियो । मेरी जहान पनि मैले पाएको यो सम्मानले अत्यन्त प्रसन्न छन् । मेरी जहानले मलाई कहिल्यैपनि गलत काम गरेर पैसा नकमाउन भनेकोले गर्दा मेरो समाजमा प्रतिष्ठा छ । गीर्वाणीले भ्रष्टाचार गरेर लाएको सुनभन्दा मेरी बुढीका खाली कान अत्यन्त सुन्दर लाग्छ ।


प्रकाशित मितिः शनिबार, भदौ २८, ०६:१०