काठमाडौंः गत साउन २० गते लेबनानको राजधानी बेरुतको बन्दरगाह क्षेत्रमा भएको भयंकर विस्फोटका घाइतेको उपचारमा संलग्न नेपाली सेनाको टोलीले प्रशंसा बटुलेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ‘युनाइटेड नेशन्स इन्टेरिम फोर्स इन लेबनान’ मा खटिएको फौजको मेडिकल सपोर्टका रुपमा उपसेनानी रक्षा भण्डारीसहितको स्वास्थ्यकर्मीको टोलीले भग्नावशेष सफाइ कार्यमा संलग्न फौजलाई कोभिड–१९ को बारेमा सुरक्षा सचेतना अपनाई सुरक्षित कार्य गर्ने वातावरण बनाएको थियो ।

सो टोलीले सफाइ कार्यको दौरान घाईते भएका ८ जना कामदारहरुको राम्रो उपचारसमेत गरेको भनि ‘युनाइटेड नेशन्स इन्टेरिम फोर्स इन लेबनान’का मेजर जनरल स्टेफानो डेल कोलले नेपाली स्वास्थ्यकर्मीको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।


नेपाली सेना स्वदेश वा विदेशमा जहां रहँदा पनि आपत विपदको समयमा सदैव सहयोगी रही आएको निर्देशनालयले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ७ शुक्रबार, ०८:३०