दाङः फोहोर व्यवस्थापन सबैको टाउको दुखाइको विषय बनिरहेको समयमा दाङको घोराही उपमहानगरपालिकाले बजारबाट संकङ्कलन हुने फोहोरबाट मोहोर बनाउँदै छ । नगर सभाबाट फोहोर व्यवस्थापन कार्यविधि पारित गरेर उपमहानगरपालिकाले गल्ने फोहोरबाट ग्यास उत्पादन गर्न थालेको हो ।

उपमहानगरपालिका १६ मा रहेको डम्पिङ साइडमा संकलित गल्ने फोहोरबाट ग्यास उत्पादन गर्ने काम धमाधम भइरहेको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । यसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । ‘हो, हामीले गल्ने फोहोरबाट ग्यास निकाल्दै छौं’, प्रमुख चौधरीले भने, ‘नगरवासीहरुसँग नगल्ने फोहोर किनेर बिक्री गर्ने तयारीमा छौं ।


।’

घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ललितपुर र नेपाल ऊर्जा विकास कम्पनी प्रा.लि. काठमाडौंका बीचमा त्रिपक्षीय सम्झौता गरेर फोहोर व्यवस्थापनको कार्य अघि बढेको हो । २० करोड रुपैयाँको लागतमा स्थापना हुने ग्यास उद्योगमा ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकको लगानी छ ।

घोराही उपमहानगरपालिका क्षेत्रबाट संकलित कुहिने फोहोरबाट दैनिक एक हजार तीन सय किलो ग्यास र छ टन प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य रहेको उपमहानगरपालिकाका प्रमुख चौधरीले जानकारी दिए । प्रमुख चौधरीले भने, ‘फोहोरलाई आर्थिक उत्पादनसँग जोड्दै छौं । अबको केही समयमै ग्यास उत्पादनको काम सुरु हुनेछ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रकाशित मितिः आइतबार, पुस २०, ०७:३८