काठमाडौंः चारदिने सद्भावना भ्रमणका लागि नेपाल आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज बुधबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुने भएका छन् ।

उनले आज अपराह्न समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन् ।

राष्ट्रपति भण्डारीलाई भेट्न बंगलादेशी राष्ट्रपति हमिद दिउँसो ४ बजे शितलनिवास जानेछन् । शिष्टाचार भेटमा आपसी हितका विषयमा छलफल हुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति हमिद त्यसपछि राष्ट्रपति भण्डारीले आफ्नो स्वागतमा याक एण्ड यती होटलमा साँझ ८ः १५ बजे आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।

राष्ट्रपति हमिदसँग अपराह्न ३ः१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओली, २ः०० बजे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।


बिहान ११ः१० बजे नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष प्रचण्ड र बिहान १०ः५० बजे राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति हमिद बिहीबार हेलिकप्टरबाट पोखरा जाने कार्यक्रम छ । काठमाडौंबाट १ बजे पोखरा प्रस्थान गर्ने हमिद सोही दिन साढे चार बजे काठमाडौं फर्किने कार्यक्रम छ ।

उनले शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । त्यसपछि उनी शुक्रबारै करिब पाँच बजे स्वदेश फर्किने कार्यक्रम छ ।

उनले मंगलबारै भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् ।


प्रकाशित मितिः बुधबार, कार्तिक २७, १०:०६