काठमाडौंः दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

ढाकामा बुधबार गरिएको कोरोना परिक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको हो । अन्य खेलाडीको नतिजा भने नेगेटिभ आएको छ ।

एन्फा स्रोतका अनुसार कोरोना देखिएको ती खेलाडीलाई अस्पतालको एकान्तबासमा राखिएको छ । उनको अवस्था सामान्य रहेको छ ।

खेलाडीको परिचय गोप्य राखिएको छ ।

नेपालले शुक्रबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै नेपालले मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।


गत हप्ताको रिपोर्टमा उनीसहित २५ खेलाडी र ११ अफिसियलको रिपोर्ट नेगेटिभ आएको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २७ बिहीबार, ११:३७