काठमाडौं: आर्थिक वर्ष २०७५/७६ को बजेट घोषणा भएता पनि शेयर बजार भने उकासिन सकेन । लगानीकर्ताहरु आगामी वर्षको  बजेट देखि उत्साहित हुन नसकेपछि शेयर बजार ओरालो लागेको हो।

बुधबार नेप्से परिसूचक ४ दशमलव ९४ अंकले घटेर १३ सय २२ दशमलब २७ अंकमा पुगेको छ । कारोबार सुरु भएको ४५ मिनेटसम्म बजार घटे पनि त्यसपछि बढेर १३ सय ४१ बिन्दुमा पुगेको थियो । तर अन्त्यमा नेप्से ४ दशमलब ९४ अंकले घटेको हो ।

शेयर बजारमा वित्त, विमा र लघुवित्त बाहेकका सम्पूर्ण समूह ओरालो लागेको छ । वित्त समूह १  दसमलव ३१  अंकले बढेको छ भने विमा समूह ११ दसमलव ५१ र लघुवित्त ४  दसमलव ३८ अंकले बढेको छ ।

बैंकिंग समूह ७ दसमलब ५४ अंकले गिरावट भएको छ भने व्यापार समूह ४ दसमलब ७३, होटेल ४ दसमलव ७३, विकास बैंक ४ दसमलव २९ , जलविद्युत ६ दसमलव ७२ अंकले गिरावट भएको छ।


शेयर बजारलाई भ्याटमुक्त बनाएको, एक अर्ब रुपैयाँ लगानी भएका उत्पादनमूलक कम्पनीले साधारण शेयर जारी गर्नुपर्ने, प्राइभेट इक्विटी फन्ड, हेज फन्ड र भेन्चर क्यापिटललाई पूँजी बजारमा प्रवेश गराउने लगायतका सकरात्मक पक्ष बजेटमा उल्लेख छ । तर पनि हिजोको बजेटले व्यक्तिगत रुपमा लाग्ने पूँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर साढे ७ प्रतिशत पुर्‍याएपछि लगानीकर्ता उत्साहित हुन नसकेका हुन् ।