काठमाडौंः बडादशैंको छैठौं दिन आज शुक्रबार कात्यायनीदेवीको पूजा आराधना गर्ने गरिन्छ ।

नवरात्रका नौ दिनसम्म नवदुर्गाका एक–एक स्वरुपको पूजाआराधना गर्ने परम्पराअनुसार आज नवदुर्गामध्येकी छैठौं स्वरुप कात्यायनीको पूजा आराधना गरिँदै छ ।

अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी भनिएको छ । कात्यायनीलाई साहसको प्रतिक मानिन्छ ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी कात्यायन ऋषिको आश्रममा पैदा भएको विश्वास गरिन्छ ।

स्कन्द पुराणका अनुसार परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको उल्लेख छ । उनैले सिंहमाथि सवार भएर महिषासुर नामक राक्षसको बध गरेको शास्त्रहरुमा उल्लेख छ ।


कात्यायनी शक्तिको कहिल्यै नसकिने स्वरुपा हुन् ।

यो समयमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ ।

दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ । दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआधाना गर्ने गरिन्छ ।

बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ। उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ ।

 


प्रकाशित मितिः शुक्रबार, असोज १७, ०५:५८