काठमाडौंः बडादशैंको नवौं दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदै छ ।

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी भव्यरुपमा मनाउँदै छन् ।

आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैं घर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेहरुले भने आज कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि चढाउने गर्दछन् ।


। अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनकारुपमा पनि लिइन्छ, इञ्जिनहरु, गाडी, कारखाना आदिमा वलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो, शक्तिस्वरुपा देवीहरुले असुरहरुलाई खोजी–खोजी संहार गरेपछी बाँचेका असुरहरु जनावरका रुपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरुलाई बलि चढाइने किंवदन्ति रहेको छ ।

प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरेकामा यो वर्ष कोरोना भाइरस संक्रमणका कारण नदिइने निर्णय सरोकार भएका निकायको बैठकले गरेको छ ।

घटस्थापनादेखिको नित्य पूजा र बलिको कार्यक्रम भने भइरहेको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताए ।

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि यो वर्ष कोरोनाकै कारण नखोलिने उनले बताए । तुलजा भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा गरिने छ ।

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ ।

यसैगरी, महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने गर्छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ९ आइतबार, ०८:४७