काभ्रेः बनेपा नगरपालिकास्थित तेण्डेल हार्डवेयर फुटाएर ९ लाख ४ हजार रुपैयाँ नगद चोरेर भागेका एक युवक नवलपरासीबाट पक्राउ परेका छन् ।

जेठ २८ को राति बनेपा–७ स्थित सुरेश घिसिङले सञ्चालन गरेको तेण्डेल हार्डवेयर प्रा.लि.बाट चोरी गरेर भागेका चितवन रत्ननगर घर भएका २७ वर्षीय प्रकाश जंग कुँवरलाई नवलपरासीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका इन्सपेक्टर योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रे र बनेपाको संयुक्त टोलीले जिल्ला प्रहरी कार्यालय नवलपरासीसँगको समन्वयमा चोरीका आरोपी कुँवरलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनको साथबाट चोरेको रकम मध्ये १ लाख ५० हजार रुपैयाँ र घटनामा प्रयोग गरेको कपडा, जुत्ता तथा सो हार्डवेरबाट चोरेको वाइफाई राउटर बरामद गरेको छ ।


हार्डवेयर चोरी गरेपछि उनी नवलपरासीको सुनवल नगरपालिका–१ डाँडाटोलमा रहेको साढुदाईको घरमा लुकेर बसेका थिए ।

कुँवरबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, असार ५, २०७७, १८:५०