रुपन्देही: रुपन्देहीको बुटवलमा बन्दको बिरोधगर्दै मोटरसाइकल र्‍याली निकालिएको छ ।

विवेकशील साझा पार्टी र नमस्ते नेपाल नामक युवाहरुले बन्दको बिरोध गर्दै र्‍याली निकालेका हुन् । उनीहरुले ‘बन्द हड्ताल सधैंका लागि अन्त्य छ, रुपन्देही जिल्ला सधैंका लागि खुल्ला छ’ भन्ने नारा लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डासहित शंकरनगरदेखि बुटवलको गोलपार्कसम्म र्‍याली निकालेका थिए ।

र्‍यालीपछि ट्राफिकचोकमा आयोजित कोणसभामा विवेकशील साझा पार्टीका नेताहरुले बन्द र हड्तालले कसैको पनि हित नगर्ने हुँदा बन्द सधैंका लागि अन्त्य हुनुपर्ने बताएका छन् ।

उनीहरुले बन्द, हड्तालले मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने, अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि नराम्रो जाने, आम जनताको जनजीवन प्रभावित बनाउने भएकाले बन्दको विकल्प खोज्नुपर्ने माग समेत गरेका छन् ।


रुपन्देहीमा बन्दका कारण सार्वजनिक यातायातका सवारीसाधन चलेका छैनन् भने निजी गाडीहरु र मोटरसाइकल भने चलेका छन् ।