झापाः झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

रिजाल नेकपामा आबद्ध रहेको प्रहरी जनाएको छ । आज बिहान करीब ३ बजे भएको बम विस्फोटबाट प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नं को बस, गाडीको डिजल ट्यांकी, झ्यालका सिसा र टायरमा क्षति पुगेको थियो।

यता नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव झापा आसपासका क्षेत्रमा बिहान समान्य परेको थियो । बिहान लामो तथा छोटो दूरीका सवारी नचले पनि क्रमशः यातायात चलेका छन् भने बजार र पसल खुलेका छन् ।


उता दमक नगरपालिकास्थित दमक बसपार्कमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । सानो गोलो आकारको कालो रंगको शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।