काठमाडौंः बर्दिवासकी ६ वर्षीया बालिकाको हत्यालाई लिएर तनावपूर्ण रहेको बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

हत्याको विरोधमा गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएपछि स्थिति बिग्रन नदिन भन्दै महोत्तरी प्रशासनले बर्दिवास नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि भोलि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

बर्दिवास नगरपालिकाको पूर्वमा रातो खोला, पश्चिममा माइस्थान, उत्तरमा गौरीवास (पाटु) र दक्षिणमा हात्तीलेट क्वार्टर चौकसम्म भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिए ।


बर्दिबास(१४ का शहील आलमकी ६ वर्षीया छोरी गुलाबको हत्या भएको थियो। आइतबार साँझदेखि हराएकी उनको शव हत्या गरेर बोरामा पोका पारेर फालेको अवस्थामा सोमबार राति भेटिएको थियो ।

प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा केही घाइते भएका थिए । प्रहरीको गोली लागेर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मंगलबार राति काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

न्यौपानेको मृत्युले स्थानीयलाई थप आक्रोशित बनाएको छ । गोली चलाउने प्रहरीमाथि कारबाही गर्नुपर्ने माग गर्दै उनीहरुले बिहानै पूर्व(पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर १० बुधबार, १३:३४