काठमाडौंः बहराइनका प्रधानमन्त्री सेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । उपचारका क्रममा अमेरिकामा उनको ८४ वर्षको उमेरमा निधन भएको हो ।

प्रधानमन्त्री खलिफाको उपचारका क्रममा अमेरिकास्थित मायो क्लिनिक अस्पतालमा बुधबार बिहान मृत्यु भएको बहराइनको राष्ट्रिय समाचार संस्था बहराइन न्युज एजेन्सीले उल्लेख गरेको छ । यसबारेमा अन्य विवरण भने दिइएको छैन ।

लामो समय प्रधानमन्त्री पदमा रहेका शेख खलिफाको निधनपछि बहराइनका राजा हमाद बिन इसा अल खलिफाले युवराज सलमान अल खलिफालाई मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

उनको निधनमा सात दिन शोक मनाउन राष्ट्रिय झण्डा आधा झुकाउन राजाले आदेश दिएका छन् ।


अमेरिकाबाट पार्थिव शरीर आइपुगेपछि परिवारका सीमित सदस्यको उपस्थितिमा प्रधानमन्त्री सलमानको अन्त्येष्टि गरिनेछ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २७ बिहीबार, १६:४९