नेपालगञ्जः बाँकेको कोहलपुरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४२ वर्षीया रामपति थारु रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार कोहलपुर नगरपालिका–९, झन्डहवा चोकमा रा १ ख २१८८ नम्बरको टिपरको ठक्करबाट घाइते थारुको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा पुर्‍याउनेबित्तिकै मृत्यु भएको हो ।

उनको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले कोहलपुर–नेपालगञ्ज सडक अवरुद्ध पारेका छन् ।

थारुको मृत्युपछि आक्रोसित स्थानीयले ठक्कर दिने टिपरमा आगो लगाउन खोजेको प्रहरीले जनाएको छ । स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेपछि आवतजावतमा समस्या भएको छ ।


ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, फागुन २८ , १२:४१