काठमाडौंः प्रहरीले बाजुरा र सिन्धुलीबाट भरुवा बन्दुक सहित तीन जनालाई पक्राउ गरेको छ ।

बाजुराको त्रिबेणी नगरपालिका–२ छतारा बस्ने २८ वर्षीय प्रेम बुढालाई १ थान एकनाले भरुवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मौरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो ।

यसैगरी, सिन्धुलीको फिक्कल गाउँपालिका–६ डाडाटोल बस्ने २४ वर्षीय तिर्थ बहादुर तामाङलाई १ थान भरुवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रत्नावतीबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा घरको भर्‍याङको चेपमा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारेको हो ।


साथै थप अनुसन्धान गर्ने क्रममा उक्त भरुवा बन्दुक तिर्थ बहादुरका दाइ ३१ वर्षीय राज कुमार तामाङको भन्ने खुल्न आएपछि राज कुमारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शनिबार, असोज २४, २०७७, २०:३७