काठमाडौंः देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको मृत्यु हुनुका साथै तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन्।

डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ।

सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ भने पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ ।

तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन् । तराईका झापादेखि बर्दियासम्मको भूभाग डुबानमा परेको छ ।
पर्सामा बाढीले बगाउँदा एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

गृहका अनुसार अत्यधिक वर्षाबाट आठ जिल्ला प्रभावित भएको छ।


रोल्पा र बाँकेमा बाढीपहिरोमा परेर सोमबार छ जनाले ज्यान गुमाएका छन्। पहिरोले घर पुरेपछि रोल्पामा सुत्केरी र शिशुसहित तीन जनाको मृत्यु भयो।

त्यस्तै कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । राजधानी काठमाडौंमा एक जनाको मृत्यु भएको छ भने सिन्धुलीमा खोलामा डुबी एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

आइतबार र सोमबार देशभर भएको वर्षा र त्यसपछि आएको बाढी र डुबानमा परी ११ जनाको मत्यु भएको गृहमन्त्रालयले जनाएको छ।

राजधानी जोड्ने पृथ्वी राजमार्गको ठाउँ–ठाउँमा पहिरो खसेको छ । कर्णाली राजमार्ग पनि बन्द भएको छ । गृह मन्त्रालयले भने सोमबार साँझ ११ जनाको मृत्यु भएको र दुई जना बेपत्ता रहेको पुष्टि गरेको छ ।

गृह मन्त्रालयले सोमबार ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखलाई जिल्ला नछोड्न सर्कुलर जारी गरेको छ । लगातारको वर्षासँगै देशभरि बाढीपहिरोले जनधनको क्षति भएपछि गृहले सबै जिल्लाका सिडिओ र प्रहरी प्रमुखलाई पत्र लेख्दै जिल्ला नछाड्न कडा सर्कुलर जारी गरेको हो ।