काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले राष्ट्रियसभा सदस्यको उम्मेद्वारको प्रस्ताव अस्वीकार गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री बन्नका लागि मार्ग प्रशस्त गर्ने गरी संविधान संशोधन गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नदेखिपछि नेकपा सचिवालय सदस्य गौतमले राष्ट्रियसभा सदस्यको उम्मेद्वारको प्रस्ताव अस्वीकार गरेका हुन् ।

आफू प्रधानमन्त्री हुने राष्ट्रियसभामा जाने भन्दै गौतमले संविधान संशोधन गर्नुपर्ने शर्त राखे ।


। तर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गौतमको शर्त ठाडै अस्वीकार गरेपछि नेता गौतमले उम्मेदवार नबन्ने बताएका एक नेताले जानकारी दिए ।

नेता गौतमलाई राष्ट्रियसभामा लैजान अध्यक्षद्वय ओली र प्रचण्डले पहिला पनि प्रयत्न गरेका थिए ।

बर्दियामा कांग्रेस नेता सञ्जय गौतमसँग आमनिर्वाचनमा हार ब्यहोरेपछि वामदेवको प्रधानमन्त्री बन्ने आकांक्षामा ठेस लागेको थियो । बर्दियामा हारेपछि उनले डोल्पा, बाँके, काठमाडौं–७ र कास्की–२ बाट उपनिर्वाचन लडेर प्रतिनिधिसभाको यात्रा तय गर्न खोजेका थिए ।

पछिल्लो पटक उनले रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ बाट उठ्ने प्रयास गरेका थिए । तर अन्तिम समयमा उनी आफैँले पराजित हुने निचोडसहित कास्कीको मैदानमा नउत्रिने भन्दै विज्ञप्ति नै निकालेका थिए ।


प्रकाशित मितिः शुक्रबार, पुस १८, १४:०७