नवलपरासी: गाई–भैँसीको गोबर, घरायसी फोहोर तथा कच्चा पदार्थको सहज उपलब्धता र स्वास्थ्यमा फाइदा पुग्ने भएपछि बायोग्यास उत्पादनतर्फको आकर्षण बढ्दै गएको छ । बायोग्यासबाट खाना पकाउँदा एलपी ग्यास, मट्टितेल, दाउराबाट हुने खर्च बच्नुकासाथै यी उर्जाकोप्रयोग गर्दा धुँवाका कारण देखिने स्वास्थ्य समस्यासमेत हट्ने भएकाले यसको प्रयोग बढ्न थालेको

बायोग्यास सहजताकासाथ स्थानीय स्तरमै उत्पादन गर्न सकिने र बायो ग्यासको निर्माणमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट अनुदान समेत पाउने व्यवस्थाका कारण यसतर्फ व्यवसायीहरु उन्मुख भएको पाइन्छ। बायोग्यास बाट एकैसाथ ग्यास, विधुत् साथसाथै मलको उत्पादन हुने हुँदा यसको उत्पादन लोकप्रिय हुँदै गएको छ ।


नवलपरासीमा निर्माण गरिएको बायोग्यास प्लान्ट विश्वकै नमुना रुपमा अगाडी आएको छ । जलवायु लगानी कोषको सहयोगमा विश्व बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान तथा एन्भिपावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिको लगानीमा नवलपरासी, रामग्राममा निर्माण गरिएको नेपालकै ठूलो फोहोरबाट ग्यास बनाउने बायोग्यास प्लान्ट विश्वकै नमुना परियोजनाको रूपमा छनोट भएको हो । विश्वका ७२ वटा विकासोन्मुख मुलुकमा ३०० भन्दा बढी वातावरण संरक्षणसम्बन्धी परियोजनामा सहयोग पुर्याउँदै आएको जलवायु लगानी कोषले उत्कृष्ट १० परियोजनामा यस प्लान्टलाई पनि नमूना परियोजनाका रुपमा राखेको छ ।

देशमै हालसम्म जडान भएको सबैभन्दा ठूलो तीन हजार ७५० घनमिटर क्षमताको यस प्लान्टबाट दैनिक १४० वटा सिलिन्डर ग्यास निस्कनुका साथै १२ टन जैविक मल उत्पादन हुने गर्छ । कुल २१ करोड लगानी रहेको यस प्लान्टलाई विस्तार गरी थप १५ सय घनमिटरको बायोग्यास प्लान्ट र ६५ किलोवाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

यस प्लान्टबाट उत्पादित ग्यास एलपिजीभन्दा १० प्रतिशतले सस्तो पर्नुका साथै १५ प्रतिशतले प्रेसर (चाप) बढी हुने हुँदा पूर्णरुपमा बल्ने भएकाले खाना छिटो पाक्ने, ग्यासमा कार्बन नहुने हुँदा भाँडा कालो पनि नहुने जस्ता फाइदा हुन्छ । जर्मन प्रविधिबाट निर्मित वायोग्यास उद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ खपत हुन्छ । उद्योगले हाल ५० भन्दा बढी होटल, रेस्टुरेन्ट, सिमेन्ट उद्योगजस्ता व्यावसायिक प्रतिष्ठानका लागि मात्र ग्यास विक्री गर्ने गरेकोमा छिटै घरायसी प्रयोजनका लागि समेत विक्री गर्ने बताएको छ ।

यस्तै स्याङ्जामा पनि अत्याधुनिक बायोग्यास पावर प्लान्ट सञ्चालनमा आएको छ । सातजना स्थानीयले ५० करोड रुपैयाँको लागतमा सञ्चालित खिलुङ-कालिका एग्रो फर्मले प्लान्ट सञ्चालनमा ल्याएको हो । यस प्लान्टबाट दैनिक १ हजार २ सय किलो बायोग्यास उत्पादन हुन्छ । बजारमा दैनिक रूपमा प्रयोग गरिने एलपीजी ग्यासको तुलनामा उद्योगबाट उत्पादन हुने सीएनजी ग्यास २० प्रतिशत बढी टिकाउ हुने कम्पनीले बताएको छ । उद्योगबाट उत्पादन हुने बायोग्यास जर्मनी र चिनियाँ प्रविधिमा तयार गरिएको कम्पनीले जनाएको छ ।

चितवनको भरतपुर अस्पतालमा पनि अस्पतालजन्य फोहरबाट बायोग्यास प्लान्ट निर्माण गरिएको छ । राष्ट्रिय गोबरग्यास निर्माण तथा सेवा प्रालिले ४ लाख ९० हजार ९९० को लागतमा अस्पतालमा गोबरग्यास प्लान्ट निर्माण गरेको छ । पच्चीस घनमिटरको प्लान्ट निर्माणका लागि  २ लाख ८७ हजार ५०० अनुदान प्राप्त भएको थियो । यस प्लान्टबाट निस्किएको ग्यास अस्पतालको अपरेसन कक्षमा पानी उमाल्न तथा अन्य उपकरण निर्मलीकरण गर्नका लागि प्रयोग गरिने छ । अस्पतालले मासिक रु १० हजार बराबरको एलपी ग्यास अपरेसन कक्षमा पानी उमाल्न र निर्मलीकरण गर्ने प्रयोजनका लागि खर्च गर्दै आएको थियो ।

यसखालका ठूला क्षमताका बायोग्यास प्लान्ट राख्न सकिए सहरमा बढ्दो फोहरको समस्या समाधान हुनेछ भने ऊर्जा र वातावरणमा समेत सहयोगमा पुग्नेछ । सबै क्षेत्रमा यसखालका ठूला वायोग्यास प्लान्ट जडान गरी विद्युत, ग्यास र जैविक मल उत्पादन गर्न सकिएमा देशको वार्षिक १० अर्बभन्दा बढीको ब्यापार घाटा कम गर्न सहयोग पुग्नुका साथसाथै स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गर्न समेत मद्धत पुग्नेछ । नवीकरणीय ऊर्जाको प्रसस्त सम्भावना रहेको नेपालमा घरायसी प्रयोजनका हिसाबले मात्र नभई व्यावसायिक सोचका साथ ठूला परियोजनाको स्थापनाले ऊर्जामा आत्मनिर्भर हुनुको साथै गरिबी निवारण तथा वातावरण संरक्षणमा उल्लेख्य प्रगति हासिल गर्न सकिन्छ ।