बाराः जितपुरसिमरा उपमहानगरपालिका–२ बाट कौडा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कुमार श्रेष्ठ र प्रधुम्न वैद्यले संचालन गर्दै आएको सगुन होटलको तेश्रो तल्लाको २०५ नं. कोठामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका–१५ बस्ने ५१ वर्षीय मान बहादुर लोप्चन, सर्लाही बागमती नगरपालिका–१ बस्ने ४१ वर्षीय तारा कुमार श्रेष्ठ, बारा परवानीपुर गाउँपालिका–८ बस्ने ३७ वर्षीय जयराम दास, बारा कलैया उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय बिनोद प्रसाद यादव, बारा जितपुरसिमरा उपमहानगरपालिका–१५ बस्ने ४२ वर्षीय मान बहादुर गुरुङ, सल्यान बढीमालिका नगरपालिका–८ बस्ने ३२ वर्षीय भूबन चन्द र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ बस्ने २५ वर्षीय पदम नेवार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ९१ हजार ५ सय रुपैयाँ र १६ थान कौडा सहित उनीहरुलाई शनिबार अपरान्ह पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शनिबार, साउन ३१, २०७७, २१:१५