बाराः प्रहरीले बाराका तीन दर्जन महिलाहरुलाई सहकारी संस्थाबाट ऋण लिन लगाई एक करोड ३० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–८ प्रशुरामपुर टोल बस्ने ५३ वर्षीय झुल खाँ पैठान र बाराकै प्रसौनी गाउँपालिका–७ बन्जरिया टोल बस्ने ५० वर्षीय जहिर मियाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पैठानले सुवर्ण गाउँपालिका–८ का २२ जना महिलाहरुलाई विभिन्न सहकारी तथा वित्तीय संस्थाबाट ऋण लिन लगाई ८३ लाख ८१ हजार रुपैयाँ ठगि गरेका छन् भने मियाँले प्रसौनी गाउँपालिका–७ बन्जरियाका १४ जना महिलाहरुलाई ललाई फकाई ४० लाख ९५ हजार ८ सय ९३ रुपैयाँ ठगेको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।


दुवै जनाले सहकारी संस्थाबाट महिलाहरुलाई ऋण लिन लगाई साँवा, ब्याज तिरिदिने र केही कमिशन दिने भन्दै झुक्याएर ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला अदालत बाराबाट पैठानलाई १० दिन र मियाँलाई ७ दिन ठगी मुद्दामा म्याथ थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।


प्रकाशित मितिः बिहीबार, चैत ६, ११:०२