बाराः कोल्हवी नगरपालिका–१ कोल्हवी बजारका एक जना मलको डिपो सञ्चालकलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय शम्भु साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

साहले आफ्नै घरभित्र श्री लक्ष्मी बहुमुखि सहकारी संस्था सञ्चालन गरी बिभिन्न किसिमका मल खादहरु कृषि सामाग्री क.लि.कलैया तथा साल्ट ट्रेडिङ्ग वीरगञ्जबाट खरिद गरी ल्याई स्टोर गरी उक्त मल बढी मुल्यमा बिक्री गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

साहलाई रु. ७००।– मा खरिद गरेको युरिया मल रु. ९००।– मा बिक्रि बितरण गरेको अवस्थामा फेला पारी स्टोर गरी राखिएको युरिया मल १८१ बोरा, कृषक पोटास ८३ बोरा, एल्मुनियम सल्फेट मल ६० बोरा र फोष्फेट मल ७८ बोरा बरामद गरी सोहि स्थानमा सिलबन्दी गरी कृषि सामाग्री कम्पनी लिमिटेडबाट अनुदानमा खरिद गरी ल्याएको मल बढी मुनाफा लिई बिक्रि बितरण गर्ने साहलाई पक्राउ गरी कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम अनुसन्धान भई रहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।



प्रकाशित मितिः बिहीबार, वैशाख ४, २२:११