काठमाडौंः स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको समूह ‘एफ’को खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २–१ ले पराजित गरेको हो ।

बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे । यता, इन्टर मिलानका लागि लाउटारो मार्टिनेजले एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा बार्सिलोना स्वारेजले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि ८४ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।


बार्सिलोनाको यो पहिलो जित हो । बार्सिलोना २ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा बार्सिलोनाले बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरी खेलेको थियो । इन्टर १ अंक जोडेर पुछारमा छ ।

 


प्रकाशित मितिः बिहीबार, असोज १६, ०९:०३