काठमाडौंः बार्सिलोनालाई पछाडि धकेल्दै रियल मड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई २–१ ले हराउँदै रियल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

रियलले बार्सिलोनासंग अंक बराबरी गर्दै हेड टू हेडका आधारमा तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको हो ।

खेलको ५० औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ७० औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । ८३ औं मिनेटमा मिकेल मोरिनाले घरेलु टोली सोसिडाडका लागि एक गोल फर्काए । बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि रियलले २–१ ले खेल आफ्नो पक्षमा पार्‍यो ।


जितसँगै रियल अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । रियल र साविक विजेता बार्सिलोनाको समान ३० खेलमा ६५ अंक भएपनि हेड टु हेडमा रियल अगाडी रहेको छ । सोसीडाड भने ३० खेलमा ४७ अंकसहित छैटौं स्थानमा नै यथावत छ ।


प्रकाशित मितिः सोमबार, असार ८, २०७७, ०७:०३